काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडा शाखा प्रमुख (बिएम) निराजन देवकोटाले आत्महत्या गरेका छन्। तत्कालीन मेगा बैंकका कर्मचारी देवकोटाले असोज १५ साँझ साढे ६ बजे त्रिशूली नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
मेगा बैंक हेटौडा शाखाबाट प्रवाहित कर्जाको विषयमा इन्भेस्टमेन्ट बैंक केन्द्रीय कार्यालयका लाइन म्यानेजरहरुले दबाब दिएपछि अनुसन्धानका नाममा पटक पटकको दिइएको ‘टर्चर’ थेग्न नसकेपछि देवकोटा त्रिशूली नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीको भनाइ छ। प्रहरीले देवकोटाको खोजी गरिरहेको धादिङ जिल्ला प्रहरी कार्यालय प्रवक्ता गौतम मिश्रले बताए।
‘उहाँ हेटौंडाबाट काठमाडौं जानु भएर फर्किने क्रममा धादिङ घाटबेसीको पुलबाट त्रिशूलीमा हाम फालेर आत्महत्या गर्नुभएको प्रत्यक्षदर्शीले बताएका छन्, तर आजसम्म शव भेटिएको छैन,’ प्रहरी प्रवक्ता मिश्रले क्यापिटल नेपालसँग भने, ‘हिजो खबर हुँदाहुँदै राति अबेर भइसकेको थियो, खोज्न सकिएन। आज बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर खोज्दा पनि मान्छे फेला परेको छैन। प्रहरीले उहाँ काम गर्ने बैंक र परिवारलाई खबर गरिसकेको छ।’