काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम प्रयास गरेका छन् । विश्व मुटु दिवसको अवसर पारेर डा. अनिलले शुक्रबार साँझ आफ्नो फेसबुक लाइभमार्फत दिएको मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रस्तुतिले विश्व रेकर्ड कायमको प्रयास भएको हो ।
फेसबुक लाइभमा कार्डियोभास्कुलर स्वास्थ्य जागरुकता लाइभ स्ट्रिमको लागि धेरै दर्शकहरु भन्ने शीर्षकमा डा. अनिलले गिनिज वर्ल्ड रेकर्ड्स कायमका निम्ति प्रयास गरेका थिए ।
शुक्रबार बेलुका ७ : १५ बजेदेखि सुरु भएको आधा घण्टा लामो जनचेतनामूलक प्रस्तुतिमा ११ हजार ३ सय जनाले प्रत्यक्ष अवलोकन गरेका थिए। विश्व रेकर्ड कायम हुनका लागि पाँच हजारभन्दा बढी प्रत्यक्ष दर्शकको आवश्यकता पर्छ। उक्त भिडियोलाई ९ हजार जनाले शेयर गरेका थिए ।त्यस्तै भिडियोमा २० हजार लाइक र १८ हजार कमेन्ट आएको थियो ।
फेसबुक लाइभ सम्पन्न हुँदासम्म १ लाख ५० जनाले भिडियो हेरेका थिए । गिनिज वल्र्ड रेकर्डको सबै मापदण्ड पूरा गरी डा. ओम मूर्ति अनिलले रेकर्ड कायमको प्रयास गरेका छन् । अब गिनिज वल्र्ड रेकर्डका निम्ति उनले आफ्नो दाबी पेस गर्ने छन् । डा. ओम मूर्ति अनिलले गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न भने केही दिन लाग्नेछ ।
फेसबुक लाइभमा जोडिने, शेयर गर्ने, कमेन्ट गर्ने र लाइभमा आउनका लागि उत्प्रेरित गर्ने सबैलाई डा. ओम मूर्ति अनिलले धन्यवाद दिएका छन् । साथै उनले सबै नेपालीको मुटु स्वस्थ रहोस् भन्ने कामना पनि गरेका छन् ।
नेशनल कार्डियक सेन्टरका संस्थापक डा. ओम मूर्ति अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुक पेज मार्फत जनचेतनामूलक अभियान जारी गर्दै आएका छन् ।